काठमाडौं, १५ मंसिर २०८०
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. लोहनी नेपालमा स्वास्थ्य बीमा शुभारम्भ गर्दाका कार्यकारी निर्देशक थिए । उनकै पहलमा विसं २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको हो । त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बीमा ऐन मस्यौदा तयार भएको थियो ।
डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट झन्डै १ वर्ष पहिले राजिनामा दिएपछि सो पद रिक्त थियो ।
अहिले स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा पुगे पनि भद्रगोल अवस्थामा छ । अहिले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्बनमा परेका छन् भने सबै सदस्यहरुले पदबाट राजिनामा दिएको अवस्था छ ।