काठमाडौं, २६ बैशाख २०८२
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले २३ वर्षमा प्रवेश गरेको छ। चिकित्सा क्षेत्रका ३६०० जनशक्ति उत्पादन गरेको छ ।
चिकित्सा बिज्ञानले डीएम/एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री), एमडी/एमएस (स्पेसलिस्ट) र नर्सिङ लगायतका गरी २३ वर्षको अन्तरालमा ३६०० उत्पादन भएको न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।
‘एमबीबीएसबाट पढ्न थालेपछि २५ वर्षमा बल्ल विशेषज्ञ चिकित्सक बन्छन्,’ डा. बस्नेतले भने, ‘न्याम्सले एमडी, एमएस गरेका १५०० चिकित्सक उत्पादन गरेको छ ।’
त्यस्तैगरी डीएम, एमसीएचमा (सुपर स्पेसलिस्ट) १५० भन्दा बढी चिकित्सक उत्पादन भएका छन् । त्यसैगरी, नर्सिङ जनशक्ति तर्फ १६०० भन्दा बढी उत्पादन भएको डा. बस्नेतले जानकारी दिए ।
मेडिकल शिक्षामा लामो समय अध्ययन गर्नुपर्ने हुन्छ । २३ वर्षको दौरानमा न्याम्सका ३६०० जनशक्ति बजारमा छन्,’ डा. बस्नेत भन्छन्, ‘न्याम्सभन्दा पहिल्यै स्थापना गरेका संस्थाले यति जनशक्ति उत्पादन गर्न सकेका छैनन् ।’हाल चिकित्साशास्त्रका स्नाकोत्तर तहका १५०० विद्यार्थीले न्याम्समा अध्ययन गरिरहेका छन् ।
वि.सं. २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो । प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
न्याम्सका उपकुलपति प्रा.डा. बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान र उपलब्धीको स्मरण गर्दै शैक्षिक दायरा विस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिनुभयो। न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था बनेको डा. बस्नेतको भनाइ छ ।
‘तत्कालीन सिनियर चिकित्सकले संसारमा भएका कुरालाई हेरेर, सोचेर, बुझेर न्याम्सको स्थापना गर्नुभएको थियो,’ डा. बस्नेत भन्छन्, ‘देशमा पीजी गरेका दक्ष जनशक्तिको ठूलो आवश्यकताले न्याम्सको परिकल्पना भएको थियो ।’ न्याम्स स्थापनासँगै पोस्ट ग्य्राजुएट (पीजी) ट्रेनिङ नगरेको भए चिकित्साशास्त्रको विशेषज्ञतामा ठूलो अभाव हुने उनी तर्क गर्छन् ।