काठमाडौं, २१ साउन २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि २४ जनाको नाम सर्टलिष्टमा परेको छ ।
मंगलबार स्वास्थ्यमन्त्री प्रदीप पौडेल नेतृत्वको उपकुलपति सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिएका ५४ जनाबाट २४ जनाको नाम सर्टलिष्ट गरेको हो ।
सिफारिस समितिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ६ जनाको सर्टलिष्टको सूची सार्वजनिक गरेको छ । सर्टलिष्टमा परेका उम्मेदवारहरुले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ता हुनेछ ।
त्यसपछि तीन जनाको नाम प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीलाई समितिले सिफारिस गर्नेछ । सिफारिस तीन जनामध्येबाट प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले एक जनालाई उकुलपति नियुक्त गर्नेछन् ।
चैत्रदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रिक्त छन् । प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि मन्त्री पौडेलको संयोजकत्व गत जेठ दोस्रो साता नै सर्च कमिटी गठन भएको थियो ।
उक्त सर्च कमिटीमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन् । गठन भएको झण्डै तीन हप्तापछि मात्रै ४ असारमा उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउँदैं आवेदन माग गरेको थियो । १० असारसम्म आवेदन दिने समयसीमा तोकिएका थियो ।
उक्त अवधिसम्म चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जना आवेदन दिएका छन् । आवेदनपछि पनि संक्षिप्त सूची प्रकाशनका लागि पनि समितिले एक महिनाभन्दा बढी समय लागेको छ।