काठमाडौं, ७ चैत २०८१
“टाउकोको चोटपटक रोकौँ, प्रभाव बुझौँ, जिम्मेवारी निभाउँ” भन्ने नारासहित टाउको चोटपटक सचेतना दिवस-२०२५ मनाइएको छ।
दिवसका अवसरमा राष्ट्रिय ट्रमा सेन्टरको न्युरो सर्जरी विभागले प्रभातफेरि कार्यक्रम गरी मनाइएको हो।
ट्रमा सेन्टर देखि सुरु भएको र्या्ली टुँडिखेल घुमेर सेन्टरमै पुगेको थियो। प्रभातफेरीमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल, न्युरोसर्जरी विभागका डा. निलम कुमार खड्का र डा. सोम राज लामिछाने, वीर अस्पताल न्युरोसर्जरी विभागका डा. राजीव झा, प्याथोलोजी विभाग प्रमुख डा. स्मृति महत, नर्सिङ विभाग प्रमुख सोचना सापकोटा पनि सहभागी भएका थिए।
प्रभातफेरिको समापन कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. भुपेन्द्र बस्नेत, वीर अस्पतालका निर्देशक डा. दिलिप शर्मा र काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरी पनि सहभागी थिए।
कार्यक्रममा विभागीय प्रमुख समेत रहेका डा. निलमले हेड इन्जुरी प्रति एक लाखमा लगभग एकहजार जनालाई हुने बताए। विश्वकै कुरा गर्दा नेपालको जनसंख्या अर्थात् वार्षिक ३ करोड हेड इन्जुरीबाट प्रभावित हुने उल्लेख गरे। उनले भने, ‘पछिल्लो एक वर्षको तथ्यांक केलाउँदा २८३ जना हेड इन्जुरीका कारण आइसियुमा पुगेको देखिन्छ र तीमध्ये ३१ जनाको मृत्यु भएको छ। नेपालमा हेड इन्जुरीको मुख्य कारण लड्नु रहेको छ।’
सवारी दुर्घटना हेड इन्जुरीको महत्वपूर्ण कारकका रुपमा औंल्याउँदै सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. रिजालले आफ्नो अध्ययन अनुसार दुर्घटनामा परेकामध्ये २३.३६ प्रतिशतमा हेड इन्जुरी हुने उल्लेख गरे। सेन्टरले २०८१ साउनदेखि फागुनसम्म ११३९ जना ‘नयाँ बिरामी’को न्युरोसर्जरी गरेको तथ्यांक अघि सारे। उनले थपे, ‘हेड इन्जुरी घटाउने उपाय दुर्घटना न्युनिकरण हो। त्यसका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं उपत्यका ट्राफिक कार्यालय र गृह मन्त्रालयको नियमित समन्वय हुनुपर्छ। तर त्यसरी समन्वय भइरहेको देखिदैन।’
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको बताए। त्यसपछि तीव्र गति र तेस्रो कारक मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको पनि उल्लेख गरे। दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको कोशिसबारे समेत गिरीले जानकारी दिनुभयो।
न्याम्सका उपकुलपति डा. बस्नेतले टाउकोको चोटपटक रोकथाम गर्न सकिनेमा पर्ने बताए। त्यसका लागि दुर्घटना न्युनिकरण नै महत्वपूर्ण रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीलाई जरिवाना बढाउन बताए।