काठमाडौं, ७ पुष २०८१
नेपालमै पहिलो पटक नेपाली चिकित्सक बाट ह्याम्स अस्पतालमा शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ।
खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
अस्पतालका कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. विवेककुमार पुर्वेको नेतृत्वमा भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालका प्रमुख डा. विकास सिंगलको निगरानीमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो। जसमा ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. नन्दु पौडेल सिलवाल, डा. अजित खनाल, एन्स्थेसियामा डा. मुरारीराज उप्रेती र डा सुरज लामिछानेको सहयोगमा उक्त शल्यक्रिया नेपालमा पहिलो पटक गरिएको हो। हाल बिरामीको अवस्था सामान्य भएर डिस्चार्ज गरिसकिएको अस्पतालले जनाएको छ।
POEM (Per Oral Endoscopic Myotomy) वाहिर शरीरमा घाउ नवनाईकन खाद्यनलीमा Sub Mucosal Tunnel बनाई सो द्वारलाई उपयोग गरी High Tone मा रहेको खाद्यनलीको मांशपेशीलाई काटी विरामीलाई कुनै पनि खानेकुरा, तरल पदार्थ खान योग्य वनाउने प्रविधि (Non Invasive Surgery) हो । दक्ष चिकित्सकद्वारा हातमा यो विधिवाट उपचार गर्दा परिणाम अत्यन्तै राम्रो हुने तथा रगत समेत दिनुपर्ने आवश्यकता हुदैन ।
विश्वभरमा करिब १ लाखमध्ये एक जनालाई ठोस तथा तरल पदार्थ निल्नै कठिन हुने समस्या हुन्छ। यस्तो समस्यामा खानामा निल्न गाह्रो हुनुका साथै तौल घट्ने, खोकी लागिरहने जस्ता समस्या हुने गर्छ।
हालसम्म नेपालका केही अस्पतालहरुमा यस रोगको उपचार बेलुन फुलाएर खाद्यनलीको तल्लो भागको हाई टोनमा खुम्चिएर बसेको मांसपेसीलाई काटेर खानेकुरा तथा तरल पदार्थ खान सक्ने बनाउने गरिएको थियो। जसलाई नन् इन्भासिभ सर्जरी भन्ने गरिन्छ।
डा. विवेक कुमार पुर्वे ईण्डोस्कोपी तथा ERCP गर्ने मुलुककै अव्वल ग्यास्ट्रोइन्टेरोलोजीष्टमा पर्नुहुन्छ । उहाँले हालसम्म ४ हजार भन्दा बढी ERCP सफलतापुर्वक सम्पन्न गरिसक्नु भएको छ । ईन्डोस्कोपीद्वारा गरिने विभिन्न प्रकारका निदान तथा उपचार पद्धतीमा उच्च दखल राख्ने डा पुर्वेको नेतृत्वमा अव उप्रान्त POEM प्रविधिद्वारा ह्याम्सले देशका विरामीहरुलाई विश्वस्तरीय सेवा प्रदान गर्ने छ ।
यस प्रकारको इन्स्कोपिक सर्जरी विश्वमा पहिलो पटक जापानको टोकियोमा सफलतापूर्वक सम्पन्न गरिएको थियो। डा. हाराहिरो इनाइले सन् २००८ मा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेपश्चात् अमेरिकामा उक्त विधिको शल्यक्रिया गरिएको थियो। तर विकसित भनिएका अधिकांश देशहरुमा समेत यस प्रकारको शल्यक्रिया प्रयोगमा आइसकेको छैन। छिमेकी मुलुक भारतका केही अस्पतालहरुमा मात्रै यस विधिबाट गरिने शल्यक्रिया प्रयोगमा छ।