काठमाडौं, २२ पुस २०८२
काठमाडौँको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो १३ औँ स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाएको छ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको अस्पतालले शनिबार साँझ विशेष कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष इञ्जिनियर दिपक कुँवरले बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्न अहोरात्र खटिने डाक्टर, नर्स तथा सम्पूर्ण कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो। कुँवरले विभिन्न आरोह अवरोहका बाबजुद पनि ग्राण्डीले निरन्तर रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।
कुँवरले भने, ´स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता चुनौतीहरूका बीच पनि ग्राण्डीले स्वदेशी तथा विदेशी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा म अत्यन्त खुशी छु।
नाफाभन्दा सेवा प्राथमिकतामा राखेर अस्पताल स्थापना गरिएको बताउँदै कुँवरले कर्मचारीहरूको सामूहिक प्रयास र दृढताका कारण आज ग्राण्डी यो अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो। साथै, राजधानी काठमाडौँमा मात्र नभई सातै प्रदेशमा ग्राण्डी विस्तार गर्ने सपना रहेको पनि उहाँले जानकारी दिनुभयो।
अस्पतालका सञ्चालक समिति सदस्य इञ्जिनियर विजय राजभण्डारीले ग्राण्डीले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो। उपचारसँगै बिरामीको हेरचाहमा समेत अस्पतालले विशेष ध्यान दिएको उहाँको भनाइ थियो। अस्पताललाई थप सुदृढ बनाउन सञ्चालक समिति र व्यवस्थापनबीच सल्लाहकार समिति गठन गरिएको राजभण्डारीले बताए।
त्यसैगरी सञ्चालक समिति सदस्य इञ्जिनियर वीरेन्द्रबहादुर श्रेष्ठले डाक्टर, नर्स र कर्मचारीको अथक मेहनतका कारण ग्राण्डी स्वास्थ्य सेवाको ‘ब्राण्ड’ बनेको बताउनुभयो। बिरामीप्रति गरिने व्यवहार र सेवाको गुणस्तर प्रशंसनीय रहेको उहाँले बतए।
सन् २०१३ जनवरीमा स्थापना भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उपचारसँगै खोज, अनुसन्धान तथा तालिमलाई समेत प्राथमिकता दिँदै आएको छ। हाल अस्पतालमा दैनिक करिब ५०० जना बिरामीले ओपिडी सेवा लिने गरेका छन्।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले विगत तीन वर्षमा मात्र चार लाखभन्दा बढी बिरामीले ग्राण्डीबाट उपचार सेवा लिएको जानकारी दिनुभयो। सामूहिक प्रयासकै कारण ग्राण्डी आज नेपालकै निजी अस्पतालमध्ये अग्रणी अस्पताल बन्न सफल भएको डा. विजुक्छेको भनाइ छ।
कार्यक्रमका अवसरमा अस्पतालमा १० वर्षभन्दा लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएका डाक्टर, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो। साथै, १३ औँ स्थापना दिवसकै अवसरमा प्रजनन तथा प्रजनन विज्ञान केन्द्रको शुभारम्भ गरिएको छ।
वार्षिकोत्सबको अवसरमा अस्पतालका अध्यक्ष इञ्जिनियर कुँवर, मेडिकल डाइरेक्टर डा. विजुक्छे तथा डा. विभूतीनाथ मिश्रले ‘ग्राण्डी जर्नल’को संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।
२०० शैयामार्फत सेवा प्रदान गर्दै आएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता समेत प्राप्त गरेको छ। विश्व स्ट्रोक संगठनबाट उक्त मान्यता प्राप्त गर्ने ग्राण्डी नेपालकै पहिलो अस्पताल बन्न सफल भएको छ।





