काठमाडौं, १८ फागुन २०८१
विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका ४ सय ८४ उपकरण मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गरेको छ । करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरणहरु मर्मतपछि प्रयोग हुन थालेका छन्
आविष्कार केन्द्रले न्यूनतम खर्चमा ३६ भेन्टिलेटर, २३ डायलासिस मेसिन, ७ एनेस्थेसिया मेसिन, १० भिडियो एक्सरे १० र ८ अटो क्लेभ मेसिन मर्मत गरेको छ । ब्लडप्रेसर मनिटर १८, ईसीजी मेसिन ३० र पेसेन्ट मनिटर ५५ वटा पनि मर्मतपछि सञ्चालनमा आएका छन् ।
डेन्टल तथा सर्जिकल सामान रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, आईसीयू/सीसीयूका सामान पनि मर्मत गरिएको छ । वटी लाइट/टेबल, इन्फ्युजन पम्प, आईसीयू/पेसेन्ट बेड, माइक्रोस्कप, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटर लगायत मेसिन पनि केन्द्रले मर्मत गरेको छ ।
आविष्कार केन्द्रले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन मानसिक अस्पताल, नेपालगन्जको भेरी अस्पताल, वीरगन्जको नारायणी अस्पताल, तनहुँको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकरण मर्मत गरेको हो । ती उपकरण अमेरिका, चिन, जर्मनी, भारत, कोरिया र नेदरल्यान्ड्सलगायत मुलुकबाट खरिद गरिएका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १७ संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापनका लागि गत भाद्रमा सम्झौता गरेका थिए
सम्झौतापछि केन्द्रको बायोमेडिकल इन्जिनियरको टिमले अस्पतालका गोदाममा थन्किएका ६ सय ६० उपकरणको विस्तृत जाँच/परीक्षण गरी रिपोर्ट तयार पारेको थियो । तीमध्ये १ सय ७६ वटा उपकरण भने पार्टपुर्जा चाहिने भएकाले मर्मत गर्न बाँकी छ ।
स्वास्थ्य मन्त्रालय वा सम्बन्धित अस्पतालले पार्टपुर्जा उपलब्ध गराए तिनलाई तत्काल मर्मत गरी मेसिन सञ्चालनमा ल्याउन सकिने केन्द्रले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उपकरण मर्मतका लागि पार्टपुर्जा चाहिने अस्पतालले बजेट माग गरे उपलब्ध गराउन सकिने बताउनु भयो ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पार्टपुर्जा उपकरणको रिपोर्ट आविष्कार केन्द्रका इन्जिनियरले भर्खरै बुझाएको जानकारी दिए । ‘यस विषयमा बैठक बसेर चाँडै निकास निकाल्छौं,’ उनले भने । केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किरातीको नेतृत्वमा २० इन्जिनियरको टोलीले अस्पतालहरूको उपकरण मर्मत गरेको हो ।