कैलाली, २४ पुष २०८१
धनगढीको गेटामा तीन सय शैयाकाे अस्पताल सञ्चालन गर्न छात्रवृतिका चिकित्सक पठाइने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ अर्ब ६२ करोडमा निर्माण गरेको भौतिक संरचनाहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल ५० शैयाको अस्पताल सञ्चालन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीहरू सहित प्राविधिकहरूलाई गेटा पठाएर भए पनि तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने जानकारी दिएको छ।
मंगलबार बिहान स्थलगत अनुगमनका क्रममा गेटा पुगेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयारी थालिएको बताए ।
मन्त्री पौडेलले नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको बताए। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम हुँदै गर्ने र नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई चाँडै गेटा पठाउने मन्त्री पौडेले बताएका छन् ।
पौडेलले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्व विद्यालयको प्रक्रियामा छ। विश्व विद्यालयको काम रोकिने होइन । गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गरौ । एमबिबिएसको अध्यापन सुरु गरौं । आयोगले पनि यसैमा काम गरोस् ।’
कैलालीको गेटामा आकस्मिक सेवा सहितको २४ घण्टा स्वास्थ्य उपचार सेवा दिन मन्त्रीले निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रादेशिक अस्पताल, सेतीले बिरामीको चाप धान्न नसकेका कारण गेटालाई बलियो बनाउनुपर्ने मन्त्रीको भनाइ छ ।
गेटामा आकस्मिक सहितको ओपिडी, प्रयोगशाला, एक्सरे, बहिरङ्ग सेवाहरू सञ्चालनमा रहेका छन् । तर, मन्त्री पौडेलले रातिको समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचराीहरू गेटामा बस्ने नगरेको गुनासो आएको बताउँदै त्यसकाे व्यवस्थापन गर्न निर्देशन दिए ।
यसैबीच गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाइएको छ । विश्वविद्यालय सञ्चालनार्थ गठित सङ्घर्ष समितिले आज मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले संघीय राज्य सत्ताबाट पटक पटक सुदूरपश्चिमवासीप्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय पनि परेकोले सुदूरपश्चिमवासी दशकौंदेखि सङ्घर्षरत रहेको उल्लेख गरे।