सप्तरी, ७ चैत २०८१
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएर पुगेका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शाहले पदभार ग्रहण गरेका छन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. शाहलाई बिहिवार अस्पतालको प्रमुख मेसुको जिम्मेवारी दिएका थिए। डा. शाहले सोमबार अस्पतालमा पुगेर जिम्मेवारी सम्हालेका छन् ।
डा. शाहलाई अस्पतालको जिम्मेवारी दिनुअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु थिए। डा. तिवारी ११ औं तहका हुन्। मन्त्री पौडेलले उनको स्थानमा ११औं तहका डा. शाहलाई सुशील प्रखर क्यान्सर अस्पतालबाट सरुवा गरेर जिम्मेवारी दिएका हुन्।
डा. शाहले जिम्मेवारी सम्हाल्दै अस्पतालको विकास र विस्तारमा काम गर्ने बताए। अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुसँग मिलेर टिममा काम गर्दै अस्पतालको विकास र विस्तारको काम अगाडि बढाउने डा. शाहले बताउनुभयो । अस्पतालको विकाससँगै बिरामीहरुलाई सहज रुपमा सेवा दिने विषयमा पनि काम गर्ने उनले बताए।
डा. शाहले यसअघि राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक र केन्द्रीय कारागार अस्पतालको प्रमुख मेसुका रुपमा काम गरिसकेका छन्। यसका साथै डा. शाहले सुदुरपश्चिम् तथा कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पा, हुम्लाका अस्पतालमा समेत काम गरी सकेका छन्।
डा. तिवारीलाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा सरुवा गरेका छन ।