सप्तरी, १० असोज २०८१
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएर पुगेका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पदभार ग्रहण गरेका छन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. तिवारीलाई आईतबार अस्पतालको प्रमुख मेसुको जिम्मेवारी दिएका थिए। डा. तिवारीले बुधबार अस्पतालमा पुगेर जिम्मेवारी सम्हालेका छन् ।
डा. तिवारीलाई अस्पतालको जिम्मेवारी दिनुअघि अस्पतालमा डा. नागेन्द्र प्रसाद यादव निमित्त मेसु थिए। डा. यादव १० औं तहका हुन्। मन्त्री पौडेलले उनको स्थानमा ११औं तहका डा. तिवारीलाई सरुवा गरेर जिम्मेवारी दिएका हुन्।
डा. तिवारीले जिम्मेवारी सम्हाल्दै अस्पतालको विकास र विस्तारमा काम गर्ने बताए। अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुसँग मिलेर टिममा काम गर्दै अस्पतालको विकास र विस्तारको काम अगाडि बढाउने डा. तिवारीले बताउनुभयो । अस्पतालको विकाससँगै बिरामीहरुलाई सहज रुपमा सेवा दिने विषयमा पनि हामीले काम गर्ने उनले बताए।
डा. तिवारीले यसअघि भरतपुर अस्पतालको प्रमुख मेसुका रुपमा काम गरिसकेका छन्। यसका साथै उनले गण्डकी प्रदेशमा स्वास्थ्य सचिवका रुपमा समेत काम गरेका छन्।