काठमाडौं, २६ मंसिर २०८२
फ्रन्टलाइन अस्पतालले नेपालका विभिन्न जिल्लाबाट आएका ३२ जना एम्बुलेन्स चालकलाई लक्षित गर्दै जीवनरक्षक तालिम सञ्चालन गरेको छ।
विहिवार आपतकालीन स्वास्थ्य सेवामा एम्बुलेन्स चालकको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखी उनीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार एम्बुलेन्स चालकहरू प्रायः गम्भीर अवस्थाका बिरामीसम्म सबैभन्दा पहिला पुग्ने भएकाले समयमै गरिएको सही हस्तक्षेपले बिरामीको जीवन बचाउन निर्णायक भूमिका खेल्छ।
तालिमका संयोजन अस्पतालका मेडिकल एडमिनिस्ट्रेटर तथा इमर्जेन्सी फिजिसियन डा. रोहन झाले गरेका थिए। डा. झाले सहभागीहरूलाई आरएचएच, बिरामीको प्राथमिक मूल्यांकन, आपतकालीन संवाद प्रक्रिया लगायतका जीवनरक्षक सीपहरूमा व्यावहारिक र विस्तृत प्रशिक्षण प्रदान गरे। सहभागीहरूले वास्तविक जस्तो परिस्थितिमा अभ्यास गर्दै आपतकालीन अवस्थामा आत्मविश्वासपूर्वक र दक्षतापूर्वक काम गर्न सक्ने क्षमता विकास गरेको डा. झाले बताएको छ।
डा. झाका अनुसार तालिमको उद्देश्य केवल प्राविधिक ज्ञान वृद्धि मात्र नभई एम्बुलेन्स चालकको मनोबल, तयारी र निर्णय क्षमतालाई मजबुत बनाउने पनि रहेको छ। संकटका क्षणमा बिरामीको पहिलो सम्पर्क बिन्दु एम्बुलेन्स चालक नै हुने हुँदा उनीहरूको सीप विकासले देशभरका आकस्मिक स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
तालिम कार्यक्रममा सहभागीहरूलाई जीवनरक्षामा उनीहरूको समर्पण र प्रतिबद्धताको सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो। यो पहल प्रमाणपत्र वितरणमा मात्र सीमित नभई नेपालमा आपतकालीन स्वास्थ्य सेवाको मापदण्ड उकास्ने महत्वपूर्ण कदम पनि हुने डा. झाले बताए।
डा. झाका अनुसार फ्रन्टलाइन अस्पतालले भविष्यमा पनि क्षमता अभिवृद्धि तथा आकस्मिक स्वास्थ्य सेवा सुधारमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको छ। गुणस्तरीय र सहज पहुँचयोग्य स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने आफ्नो मिशनअन्तर्गत यस्ता अभियान निरन्तर अघि बढाइने छ।
तालिममा सहभागी विभिन्न जिल्लाका एम्बुलेन्स चालकहरूले फ्रन्टलाइन अस्पतालप्रति आभार व्यक्त गर्दै, भविष्यमा पनि आकस्मिक स्वास्थ्य सेवा स्तरीय बनाउन अस्पतालसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्।











