काठमाडौं, २५ भाद्र २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको तीन दिन बितिसक्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको थियो। सोमबार मन्त्री पौडेलले राजीनामा दिई सकेको छ।
आकस्मिक कक्षमा थप स्वास्थ्यकर्मी
बिरामीहरुको उपचार भैरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चाप मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले हामी आन्दोलनमा घाइते भएकाहरुको लागि उपचारमा कुनै कमी हुन नदिने बताएका छ्न। डा. रिजालका अनुसार २० जना घाइतेको उपचार पछि डिस्चार्ज गरिएको छ भने हाल ६० भन्दा बढी उपचाररत छ्न।
रगत अभाव हुन नदिन २४ सै घण्टा हटलाइन १११५
मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४ सै घण्टा चलाउने भएको छ । कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको थियो।