सुर्खेत, ४ मंसिर २०८१
नेपाल परिवार नियोजन सङ्घले कर्णाली प्रदेशमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र यस क्षेत्रमा बजेट विनियोजन विषयक एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो।
कार्यक्रमको प्रमुख अतिथि माननीय सामाजिक विकासमन्त्री घनश्याम भण्डारी रहनुभएको थियो भने अन्य अतिथिहरूमा सभासद माननीय खड्क बहादुर पोखरेल, माननीय मिलन खड्का रहनुभएको थियो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट कर्णाली प्रदेशमा परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्य अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो। नेपाल परिवार नियोजन सङ्घले परिवार नियोजनमा लगानी र यसको फाइदा साथै विपदका बेलामा यौन तथा प्रजनन स्वास्थ्य सेवा विषयक कार्यपत्र प्रस्तुत गरेको थियो।
कार्यक्रममा माननीय मन्त्रीज्यूले कर्णाली प्रदेशका प्रजनन उमेरसम्मका सबै व्यक्तिहरूमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चिता गराउने विषयमा प्रतिबद्धता लिखित रुपमा गर्नुभएको थियो। साथै कर्णाली प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजन गर्नका लागि पनि प्रतिबद्धता जनाउनु भएको थियो।
कार्यक्रमको सभापतित्व नेपाल परिवार नियोजन सङ्घ सुर्खेत शाखाका कोषाध्यक्ष श्री सुरेन्द्र बस्नेतज्यूले गर्नुभएको थियो।