काठमाडौं, २५ असोज २०८२
बिहिवार राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरुवात गरिएको छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा. बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा. कुलदीप मंगल जोशी लगायत अन्य नर्सहरुको सहभागिता रहेको थियो।
उक्त इन्डोस्कोपी स्पाइन सर्जरी सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. कुलदीप मंगल जोशीले बताउनु भयो।
डा. जोशीका अनुसार सबै सामग्री सेटअप भइसकेपछि सामान्यतया १ घन्टाभित्र सम्पन्न गर्न उक्त शल्यक्रिया पहिलोपटक गरिएकोले करिब २ घन्टा समय लागेको थियो।
डा. जोशीले एक महिना अघि ट्रमा सेन्टरले यस प्रकारको शल्यक्रियाका लागि सामग्री ल्याइएको र यो सँगै अब शल्यक्रिया सहज भएको बताए। विगतमा चिरफार नै गर्नुपर्ने अवस्था रहेकोमा अब सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिने डा. जोशीले बताए।
‘विगतमा चिरफार नै गर्नुपर्ने अवस्था रहेकोमा अब सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिनेछ। यो सेवासँगै बिरामीको अस्पताल बसाइ कम हुनेछ,’ डा. जोशीले भने। केही निजी अस्पतालहरुमा यस प्रकारको शल्यक्रिया यसअघि नै हुने गरेकोमा राष्ट्रिय ट्रमा सेन्टरमा भने यसको सुरुवात बिहीबारबाट भएको हो।
डा. रिजालका अनुसार ट्रमा सेन्टरमा उक्त शल्यक्रियाको सुरु भएसँगै निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। यस्तो शल्यक्रियामा इम्प्लान्ट लगाउनुपर्दैन। निजी अस्पतालमा भन्दा धेरै सस्तो सेवा राष्ट्रिय ट्रमा सेन्टरले दिन सक्ने डा. रिजालले बताए।
निजी अस्पतालमा १ लाखसम्म पर्न सक्ने उक्त शल्यक्रिया ट्रमा सेन्टरले २०–२५ हजारमा उपचार हुने डा. रिजालले बताए।