पोखरा, १४ फागुन २०८०
गण्डकी प्रदेश सरकारले आयुर्वेद चिकित्सक डा. शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार प्रदान गरेको छ।
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा डा. गौतमसहित १० जना कर्मचारी पुरस्कृत भएका हुन्।
डा. गौतम आयुर्वेद स्वास्थ्य केन्द्र मनाङमा कार्यरत छन्। आयुर्वेद सेवासहित समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा सक्रिय डा. गौतम लामो समयदेखि दुर्गम क्षेत्रमा कार्यरत छन्।
गण्डकी प्रदेशले गोरखा अस्पतालमा कार्यरत प्रतिमा श्रेष्ठलाई पनि निजामती पुरस्कार प्रदान गरेको छ।
प्रदेशले यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीलाई प्रदान गरेको छ। उत्कृष्ट प्रदेश निजामति पुरस्कार मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले पाएका छन्।
यस्तै प्रदेश निजामती पुरस्कार डा. गौतम र श्रेष्ठसहित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका शिव लम्साल, अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्लेले पाएका छन्।