काठमाडौं, ०४ पुष २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. रुद्र मरासिनीले जिम्मेवारी पाएका छन्। सेन्टरका प्रमुख मेसु डा. बद्री रिजालले आफ्नो पदबाट राजीनामा दिएपछि डा. मरासिनीले जिम्मेवारी पाएका हुन्।
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेसँगै डा. बद्री रिजालले नैतिकताका आधारमा आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन्। डा. रिजालले वरिष्ठतालाई मुख्य आधार बनाउँदै डा. मरासिनीलाई निमित्तको कार्यभार सुम्पिएर राजीनामा बुझाएका थिए।
नवनियुक्त निमित्त प्रमुख डा. रुद्र मरासिनीले यस अघि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख भएर काम गरिसकेका छ्न। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. मरासिनीलाई चिकित्सा क्षेत्र र प्रशासनिक कार्यको लामो अनुभव रहेको छ।
डा. मरासिनीले स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र व्यवस्थापन महाशाखाको प्रमुख भएर काम गरिसकेका छन् भने भरतपुर अस्पतालको प्रमुख भएर पनि काम गरेका छन्।








