धनुषा, ६ माघ २०८१
जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. रामनरेश पण्डितलाई नियुक्त गरेको छ ।
स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले नियुक्त गर्नुभएको हो ।
चिकित्सा शास्त्रमा २३ वर्ष अगाडी स्नातकोत्तर गर्नु भएका डा. पण्डित यस क्षेत्रका वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त चिकित्सक हुन् । नवनियुक्त शिक्षाध्यक्ष डा. पण्डितले आजै प्रतिष्ठानमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक समेत भएर काम गर्नु भएका नवनियुक्त शिक्षाध्यक्ष डा. पण्डितको कार्यकाल ५ वर्षको रहने भएको छ । विगत लामो समयदेखि उक्त पद रिक्त भएका कारणले प्रतिष्ठानको शैक्षिक गतिविधि बढाउनमा कठिनाइ भएका थिए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाई हुनुका साथै यस भन्दा अगाडी नै चिकित्सा विज्ञानका विभिन्न ४ विषयमा स्नातक तथा केही विषयमा स्नातकोत्तरको समेत पठन पाठन भइरहेका छन्