काठमाडौं, ७ फागुन २०८१
नेपालमा पहिलोपटक शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अलकापाको सफल शल्यक्रिया भएको छ । मुटुमा रक्त सञ्चार गर्ने मूल नशा (left coronary artery) एओटबाट निस्कनु पर्नेमा पल्मोनरी आर्टरी Pulmonary artery) बाट निस्केको अवस्थालाई anomalous left coronary artery originating from Pulmonary artery (ALCAPA) भनिन्छ । उक्त नशालाई फेरी मुटुको मूल धमनी एओर्टामा नै लगेर जोडिने शल्यक्रिया नै ‘अलकापा’ शल्यक्रिया हो । विरलै हुने उक्त रोग करीब तीनलाख जीवित जन्मेका शिशु मध्ये एकलाई हुने गर्दछ ।
केन्द्रमा ९ महिने बालकको सफल शल्यक्रिया भएको छ। पल्मोनरी आर्टरीबाट निस्केको रगतको नलीमा प्रेसर र रगतको बहाब कम हुने हुनाले मुटुको माशपेशीलाई आवश्यक रगत नपुगी माशंपेशी खुम्चिने शक्ति कम हुन जान्छ । उक्त बालकको मुटुको खुम्चिने शक्ति घटेर १०-१५% मा झरीसकेको थियो । औषधी उपचार पश्चात २५% सम्म बढ्न सकेको थियो । साधारणतया मुटुको खुम्चिने शक्ति ६०% को हाराहारीमा हुन्छ । यो यस प्रकृतीको पहिलो सफल शल्यक्रिया हुनुको साथै सबैभन्दा कम खुम्चिने शक्ति (Ejection Fraction) भएको मुटुको शल्यकृया समेत भएको शल्यचिकित्सक डा. रबिन्द्र भक्त तिमलाले जानकारी दिनुभयो ।
डा. तिमलाका अनुसार अप्रेसन पश्चात हाल उक्त बालकको मुटुको खुम्चिने शक्ति वढेर ३५ प्रतिशत पुगिसकेको छ र विस्तारै बढ्दै जाने अपेक्षा गरिएको छ ।