काठमाडौं, २९ माघ २०८०
डा. ओम फाउन्डेसनका संस्थापक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हफ्ते सचेतना मूलक अभियान ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गरेका छन् ।
विद्यालय स्तरमा अभियान सञ्चालन गर्न फाउन्डेसनले ‘स्कूल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । उक्त सन्दर्भमा फाउन्डेसनले धूम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालय स्तरीय खुल्ला राष्ट्र व्यापी कविता, बाल चित्रकला र हाजिरी जबाफ प्रतियोगिता’ आयोजना गरेको हो ।
डा. ओममुर्तिले भने–‘अध्ययन अनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूम्रपान शुरु गरेको पाइन्छ ।’
किशोरावस्था मै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिन पर्ने स्थिति रहेको औँल्याउँदै उनले विद्यार्थीलाई धूम्रपान र सुर्ती सेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य रहेको बताए ।
‘विद्यार्थीहरुमा धूम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असर बारे चेतना जागृत भयो भने उनीहरू आफू धूम्रपान र सुर्ती सेवन गर्दैनन् । सँगै घर परिवार, आफन्त र साथी भाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन्’ डा. ओममुर्तिले भने ।
फाउन्डेसनले धूम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, निजका परिवार र साथी भाइ, आफन्तको स्वास्थ्यमा पर्ने असर झल्काउने गरी ‘विद्यालय स्तरीय खुल्ला राष्ट्र व्यापी कविता, बाल चित्रकला र हाजिरी जबाफ प्रतियोगिता’ आयोजना गरेको डा. ओममुर्ति ले बताए ।
फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि अनलाइन मार्फत सार्वजनिक आह्वान समेत गरेको छ ।
वाल कविता प्रतियोगिता
यसको लागि धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असर सम्बन्धी सन्देश मूलक नेपाली भाषामा कविता रचना गरिएको हुनुपर्छ । गद्य, पद्य वा छन्दमा रचित कविता २५० शब्द भित्र समेटिएको हुनु पर्नेछ । प्रतियोगितामा १२ कक्षा सम्मका विद्यार्थी सहभागी हुन सक्छन् । कविता प्रतियोगितामा पाँच जना छात्रछात्रालाई उत्कृष्ट रचनाकारको रूपमा छनौट गरी प्रति व्यक्ति १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । प्रतियोगिताको लागि समावेश हुने कविता फाउन्डेसनमा २०८० माघ २७ गते भित्र आइ पुग्नु पर्छ ।
बाल चित्रकला प्रतियोगिता
धूम्रपान र सुर्ती सेवनले उपयोग गर्ने व्यक्ति, निजका परिवार र साथी भाइको स्वास्थ्यमा पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्छन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनु पर्नेछ । उक्त चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिन्छ । सहभागी मध्येबाट एकजना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रूपमा छनोट गरी प्रति व्यक्ति १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।
हाजिरी जवाफ प्रतियोगिता
धूम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षा सँग सम्बन्धित हाजिरी जबाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्छन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तीमा एक जना छात्रा अनिवार्य गरिएको छ ।
सहभागी मध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
हाजिरी जबाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरू बीच ‘भर्चुअल’ (जुम प्लेटफर्म) र्यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धूम्रपान सम्बन्धित छानेको/रोजेको विषयमा बोल्नुपर्ने हुन्छ ।
छनोट चरणमा उत्कृष्ट भएका प्रदेश गतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रति प्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूह मध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबुक लाइभ वाट प्रसारित समेत हुनेछ ।
हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गते भित्र डा. ओम फाउन्डेसनको फेस बुक पेजमा रहेको गुगल फर्म भरेर आवेदन भर्नु पर्ने छ ।
अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ । सबै प्रतियोगीले आवेदन सँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बर सहित), इमेल र विद्यार्थी परिचय पत्र स्पष्ट आउने गरी समावेश गर्नु पर्नेछ ।
प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेसनको टिमले गर्नेछ । हाल प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जनाएको छ । प्रतियोगिता बारे विस्तृत जानकारी फाउन्डेसनको वेबसाइट र फेस बुक पेजबाट पनि हेर्न सकिनेछ।