काठमाडौं, २७ फागुन २०८१
वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनलाई दुई वर्षका लागि वीरको निर्देशक पदमा नियुक्त गरेका हुन् ।
शुक्रबार उपकुलपति प्राडा. बस्नेतले डा. शर्मा सहित डा. अनुपमा कार्की र डा. समाज गौतम गरी तीन जनाको नाम निर्देशक पदका लागि सिफारिस गरेका थिए । मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा. शर्मालाई निर्देशक बनाउने निर्णय गरेका हुन् ।
डा. शर्माले आजै पत्र बुझेर जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् । मन्त्रालयबाट नियुक्ती पत्र लिनका लागि बोलाउनु भएको छ सम्भवत आज पत्र बुझ्छु र जिम्मेवारी सम्हाल्ने डा. शर्माले बताए।
यसअघि वीरको निर्देशक डा. सन्तोष पौडेल थिए । उनको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिनु भएको थियो।
नव नियुक्त डा. शर्माल्व यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार जस्ता पदमा रहेर प्रशासनिक जिम्मेवारी सम्हालेको अनुभव समेत रहेको छ।