बैतडी, ५ जेष्ठ २०८१
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मीले केही दिन अगाडि देखि जोखिम भत्ता पाउनुपर्ने भनेर आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलन स्थगित गरेर चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्।
आइतबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मी पुनः काममा फर्केका हुन्।
आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएर सबै सेवा नियमितरुपमा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा. सुशील विकले बताउनु भयो ।
डा. बिकका अनुसार स्वास्थ्यकर्मी र चिकित्सकले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको हो।
गत नौ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूले पाउनुपर्ने सेवाको माग गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलित भएका थिए । उनीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रिया पुर्याउन आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीको अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम निकासा नदिँदा समस्या भएको थियो । जिल्ला अस्पतालका सेवा सञ्चालन भएपछि बिरामीलाई सहज भएको छ ।