काभ्रे, २१ माघ २०८१
धुलिखेलमा नेपालकै ठूलो मानसिक स्वास्थ्य अनुसन्धान केन्द्र तथा अस्पताल सञ्चालनमा आएको छ ।
काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सअन्तर्गत स्वायत्त निकायको रूपमा सेन्टर फर मेन्टल हेल्थ (मानसिक स्वास्थ्य केन्द्र) सञ्चालनमा आएको केन्द्रका निर्देशक डा. दिपक कुँवरले जानकारी दिनुभयो।
‘केन्द्र अन्तर्गत अनुसन्धान केन्द्र, पुनःस्थापना केन्द्र र मानसिक अस्पताल सञ्चालनमा छन्,’ उनले भने, ‘केन्द्रमा एमएस्सी क्लीनिकल साइकोलोजी जस्ता एकेडेमिक शैक्षिक कार्यक्रम पनि सञ्चालन हुनेछन् ।’ केन्द्रमा १०० शय्याको मानसिक अस्पताल सञ्चालनमा आएको उनले बताए ।
केन्द्रबाट टेलिमेडिसिन अर्थात् टेलिफोन, अनलाइन, भिडियो कुराकानीमार्फत परामर्श दिन सकिने सुविधा समेत उपलब्ध छ । केन्द्रलाई मानसिक बिरामीको सेवा गर्ने तथा जनशक्ति उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो संस्थाको रूपमा विकास गरिने डा. कुवँरले बताए ।
केन्द्रको भौतिक पूर्वाधार निर्माणमा काठमाण्डु विश्वविद्यालयको १६ करोड खर्च भएको छ । केन्द्रको स्थापनामा निवर्तमान उपकुलपतिको डा. भोला थापाले अगुवाइ गरेका हुन् ।
माघ महिनाबाटै सञ्चालनमा आएको केन्द्रमा मानसिक बिरामी आउन थालेका निर्देशक डा. कुँवरले बताए । हाल केन्द्रमा मानसिक रोग विशेषज्ञ ४ जना, क्लीनिक साइकोलोजी १ जना, स्टाफनर्स र कर्मचारी १५ जना कार्यरत छन् ।