काभ्रेपलाञ्चोक, २६ साउन २०८२
धुलिखेल नगरपालिका अन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र काभ्रेले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बीमा सेवा सुरुआत गर्ने भएको छ ।
यसअघि प्राथमिक केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । केन्द्रले प्रेषण केन्द्र (रेफरल)का लागि सहज हुने उद्देश्यले अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित सेवा सुरु गरेको हो ।
सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा विन्दुको सुविधा यही साउन १ गतेदेखि रेफरल सेन्टरको रूपमा मात्रै काम गरिरहेको छ ।
नगरपालिकाले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित रिफरल सेवा सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले बताउनुभयो ।
केसीका अनुसार धुलिखेल अस्पतालसँगको साझेदारीमा सेवा सुरु गरिएकाले जनशक्ति अभाव भएका बेला चिकित्सक लगायत भौतिक पूर्वाधारमा पनि दुवै संस्थाले सघाउने सहमति भएको छ।