धादिङ, ०७ पुष २०८२
धादिङ अस्पतालले ४९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ। अस्पतालले उत्सव सप्ताहव्यापी विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको हो।
शुक्रबार आयोजित मूल समारोहमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पतालमा क्रमिक रूपमा विशेषज्ञ सेवा विस्तार गरिने घोषणा गर्नुभयो।
स्वास्थ्यमन्त्री थापाले धादिङ अस्पतालमा सिटी स्क्यान सेवा सुरु गर्न प्रस्ताव पेश गरिने, डायलाइसिस मेसिन थप गरिएको र मृगौला रोगीलाई धादिङमै सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो। उनले स्वास्थ्य विभागको नाममा रहेको ३४ रोपनी जग्गा अस्पतालकै नाममा ल्याइने र त्यसपछि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो। धादिङमै नर्सिङ कलेज सञ्चालनको तयारीसमेत भइरहेको थापाको भनाइ थियो।
कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले पछिल्लो समय धादिङ अस्पतालले उल्लेखनीय प्रगति गरेको बताउँदै अझ प्रभावकारी सेवा दिन सिटी स्क्यान लगायत थप विशेषज्ञ सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो।
सोही अवसरमा विभिन्न विधाका उत्कृष्ट कर्मचारी, सहयोगी संस्था तथा कर्मचारीबीच आयोजित खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।











