काठमाडौं, ३१ असार २०८१
नेपालमा डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
काठमाडौंमा यो वर्ष डेंगुको संक्रमण सबैभन्दा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना संक्रमित भइसकेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले यसवर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने बताउनु भयो। एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ, असोज र कात्तिकसम्म रहने देखिन्छ ।
डा. दहालका अनुसार गत वर्ष पनि मनसुन चाडै सक्रिय भएकाले डेंगु चाँडै फैलिन सुरु गरेको थियो । यसवर्ष भर्खरै मनसुन सक्रिय भएको छ । अबका दिनमा डेंगुका बिरामी बढ्ने आकलन गरिएको छ।
एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामका लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
सन् २०२० मा धरानमा फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए। ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको ज्यानै गयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।
सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।
डा. दहालले भने पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएका छन् अब डेंगु सदाबहादर देखिने आकलन गर्न सकिन्छ।
विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेको वृद्धि, विकास हुने ठाउँ फालिएका टायर, फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ ।
बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउने, घरका झ्याल, ढोकामा जाली हाल्ने, सुत्दा झुल हाल्ने जस्ता सचेतता अपनाउनुपर्छ।