काठमाडौं, १४ साउन २०८१
वर्षायादमा हैजा र डेंगुको संक्रमण एकसाथ बढ्न थालेपछि नेपाल दोहोर जोखिममा परेको छ।
पछिल्लो समय झाडापखालाको लक्षणसहित हैजाका शंकास्पद बिरामी बढ्नका साथै डेंगु पनि फैलिन थालेको छ।
धनगढी उपमहानगरपालिका पशुपति टोलका ६ र ८ वर्षीय दुई बालकमा हैजा पुष्टि भएको छ। पशुपति टोलमा हैजाको आशंकामा आठजनाको नमुना संकलन गरिएकोमा दुई बालकमा हैजा पुष्टि भएको र थप ६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।
पशुपति टोलकै दुईजनामा गत शुक्रबार हैजा पुष्टि भएको थियो। ‘वितरण गरिएको खानेपानी नभई भण्डारण गरेर राखिएको पानी प्रदूषित देखियो,’ उनले भने, ‘खानेपानीको भाँडोमा राखिएको प्रदूषित पानीमा हैजाका जीवाणु भेटिएका छन् ।’
यस्तैगरी काठमाडौंको कालीमाटी क्षेत्रका तीन पुरुष र भीमसेनस्थानकी ३२ वर्षीया महिला हैजाका लक्षण देखिएर अस्पताल भर्ना भएकामा आरडिटी परीक्षण गर्दा पजिटिभ रिपोर्ट आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। कालीमाटीका तीनैजना बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, ललितपुरमा हैजा ‘आउटब्रेक’ भएको गोदावरी नगरपालिका- १४, ठेवस्थित नसारहित समाज पुनर्स्थापना केन्द्र’ का एक व्यक्तिमा पनि आरडिटी पजिटिभ देखिएको छ। त्यसैगरी शनिबार हैजासहितका लक्षण देखिएपछि ललितपुर चापागाउँकी २४ वर्षीया युवतीमा पनि हैजाको शंका गरिएको छ। टेकुमा उपचाररत व्यक्तिको स्याम्पल थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
पछिल्लो चार दिनमा थपिए डेंगुका १३० बिरामी
पछिल्ला चार दिनमा डेंगुका १३० संक्रमित बिरामी थपिएका छन् । देशभर संक्रमितको संख्या एक हजार ९५५ पुगेको छ ।
केही वर्षयता बाह्रै महिना देखिएको डेंगु यो वर्ष विगत सात महिनायता उकालो लागेको तथ्यांकले देखाउँछ । वर्षासँगै डेंगु गराउने लामखुट्टेको संख्या बढ्छ र संक्रमण बढाउँछ । यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशमा ६२६ जनामा संक्रमण देखिएको छ भने सबैभन्दा कम कर्णालीमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तैगरी, कोशीमा ४८९, गण्डकीमा ३४३, लुम्बिनीमा २१४, सुदूपश्चिममा २१३ र मधेशमा ४३ जनामा पुष्टि भएको छ । जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा धेरै काठमाडौमा २२६, झापामा १२९ र चितवनमा १०२ जनामा डेंगु संक्रमण देखिएको छ ।