सिन्धुपाल्चोक, १० साउन २०८२
चौतारा अस्पताल सिन्धुपाल्चोक र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौ बीच स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
चौतारा अस्पतालमा दुवै संस्थाबीच स्याटेलाइट क्लिनिक मार्फत विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साउन ९ गतेदेखि लागु हुने गरी समझदारी गरिएको हो।
प्रथम पक्ष ( शुक्रराज ट्रपिकल) ले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानून र स्वीकृत मापदण्डको अधीनमा रही यातायात र खाजा खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउनु पर्ने बताइएको छ । स्याटेलाइट क्लिनिक संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्नेछ ।
स्याटेलाइट क्लिनिक संचालन गर्दा प्रत्येक महिनाको दोश्रो हप्ताको आइतवार र चौथो हप्ताको आइतवार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोग लगाएत अन्य विशेषज्ञ सेवाहरु संचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
दोश्रो पक्ष (चौतारा अस्पताल) ले स्याटेलाइट क्लिनिक सञ्चालन गर्न सहज वातावरण निर्माण गर्ने बताइएको छ। त्यसैगरी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्नुपर्ने भनी उल्लेख गरेको छ।
सम्झौतामा टेकु अस्पतालका तर्फबाट निर्देशक डा. युवनिधि बसौला र चौतारा अस्पतालका तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्।
टेकुका प्रमुख कन्सल्ट्यान्ट डा. विमल चालिसे, अस्पताल प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्झौता भएको हो।