काठमाडौ, ४ पुष २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चन्द्रागिरी नगर अस्पताल थानकोटलाई भेन्टिलेटर प्रदान गरेको छ। यो सेवा प्रदान गरे सङ्गै अब भेन्टिलेटर सेवा सञ्चालन हुने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज एक आयोजित कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई उक्त उपकरण हस्तान्तरण गरेका छन् ।
चन्द्रागिरी- ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार विसं २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरी- ४ थानकोटामा सञ्चालित १५ शैयाको सो अस्पतालले प्रयोगशाला, २४ सैँ घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिराखेको छ।
अस्पतालले पछिल्लो समयमा मुटु रोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवं मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ।
यस्तैगरी चन्द्रागिरी नगरपालिकाले नगर क्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिराखेको छ। यस कार्यक्रमबाट स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषण लगायत) परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइराखेको छ।
चन्द्रागिरी–४ थानकोटमा नै जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा रु एक अर्बमा प्रसूति विशेषज्ञ अस्पताल समेत निर्माण हुँदैछ। यसका लागि जर्मन विकास बैंकले बजेट निकासा गरिसकेको प्रवक्ता खड्कीले बताए।