भक्तपुर, १ चैत २०८१
शुक्रबार रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर बिजेताहरु सँग होली मनाएको छ। सोसाइटीले समाजमा क्यान्सर सम्बन्धी सकारात्मक सन्देश जाओस भनेर क्यान्सर बिजेताहरुसँग होली पर्व मनाएको हो।
समाजमा क्यान्सर भन्ने बित्तिक्कै निको हुदैन भन्ने सोचाइ रहेको अवस्थामा यस्तो सोचलाई चिर्दै क्यान्सरको उपचार हुन्छ र समयमा उपचार भएमा निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर बिजेताहरुसँग सोसाइटीले होली मनाएको संस्थाकी अध्यक्ष स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन्।
‘कुनै पनि क्यान्सर समयमै सही उपचार गर्यो भने पुर्ण रुपमा निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर विजेताहरुसँग होली मनाउँदै आइरहेका छौं,’ डा. श्रेष्ठले भनिन्।
डा. श्रेष्ठ प्रजापतिले क्यान्सर पश्चात पनि जीवन होलीका रङ्गहरु झै रङ्गिन हुन्छन भन्ने सन्देश दिन क्यान्सर विजेताहरुसँग होली पर्व मनाउँदै आएको बताइन्।
सो कार्यक्रममा वरिष्ठ गायिका तथा क्यान्सर बिजेता तारा थापाको पनि उपस्थिति रहेको थियो भने उनको साङ्गितिक प्रस्तुति रहेको थियो।
किम्बदन्ती अनुसार हिरण्यकश्यपुले आफ्नो छोरा प्रह्लालाई मार्न आगोले कहिल्यै भष्म नहुने बरदान पाएकी आफ्नी बहिनी होलीकाको सहयोग लिन्छ तर होलीका नै आगोले भष्म हुन्छ। त्यसरी नै प्राण घातक रोगलाई जितेर नयाँ जीवन प्राप्त गरेको खुसीमा यो होली मनाउँदै आइरहेको छ।