चितवन, २१ माघ २०८१
भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् ।
अस्पतालले कर्णालीको सुर्खेत प्रादेशीक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ ।
अस्पतालले सुर्खेत र धनगढीमा दुईपटक क्याम्पमार्फत सेवा दिइसकेको छ । मङ्गलबार सुर्खेत र बुधबार धनगढीमा तेस्रोपटक सेवा दिँदै छ । गण्डकीमा एक पटकमात्र सेवा दिइएको छ ।
चिकित्सकसहित आठ जनाको टोलीले सेवा दिने गरेको र पहिलेनै मिति तय गरेर क्यान्सरका बिरामीको नाम टिपेर एकै पटक सेवा दिने गरेको अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले बताए।
डा. नेपालका अनुसार एक पटकमा १५० हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको छ । टोलीमा पाँच जना विशेषज्ञ चिकित्सक, दुई नर्स र एक प्रशासनिक कर्मचारी यहाँबाट जाने गर्दछन् भने अन्य सहयोग त्यहीँको अस्पतालबाट लिने गरिन्छ । स्वास्थ्य परीक्षण, नियमित जाँच र शल्यक्रियासम्म त्यहीँको अस्पतालमा गर्ने गरिएको छ ।
जटिल अवस्था भएमा यही बोलाएर उपचार दिने गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार नाम टिपाएका बिरामीमध्ये धेरै जुन क्यान्सरका छन् त्यहीअनुसारका विभागीयविज्ञ चिकित्सक पठाउने गरिएको छ । यहाँबाट गएको टोलीले त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीसँग क्यान्सर रोग सम्बन्धमा छलफल गर्ने गरेको छ । रोग पहिचान, उपचारलगायतका बारेमा अनुभव आदानप्रदान गर्ने गरिएको उनले जानकारी दिए । पौडेलले भने, “सम्बन्धित अस्पतालमा भएका स्रोत साधनलाई अधिकतम उपयोग गरेर सकेसम्म त्यहाँ गर्न सकिने उपचार त्यहीँ गर्ने गरेका छौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका छन् । सोहीबमोजिम विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिएको हो।