काठमाडौं, २४ मंसिर २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाईमा सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् ।
सार्क फेडरेसन अफ अंकोलोजिस्टस् र सार्क फेडरेसन अफ अंकोलोजिस्टस् नेपालको आयोजनामा राजधानीमा शुक्रबारदेखि सुरु भएको १८ औं सार्क फेडरेसन अफ अंकोलोजिस्टस् क्यान्सर सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले क्यान्सर न्युनिकरणका लागि सार्क राष्ट्रका विज्ञहरु एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने बताएका हुन । हिजोमा दिनमा क्यान्सर भनेपछि निको नै नहुने रोगका रुपमा चित्रण गरिएको भए पनि वर्तमान अवस्थामा विज्ञहरुको मेहनत र नयाँ खोज अनुुसन्धानले क्यान्सर पनि उपचार पछि निको हुने रोगको रुपमा लिन थालिएको बताउदै मन्त्री बस्नेतले सार्क राष्ट्रका विज्ञहरुले आपसी अनुभव आदान प्रदान र उपचार विधिका बिषयमा गहन छफलफ गरेर ठोस परिणाम निकाल्न सक्ने विश्वास व्यक्त गरे ।
क्यान्सर रोगको उपचारमा संलग्न चिकित्सकहरुको प्रशंसा गर्दै मन्त्री बस्नेतले भने, ‘ तपाईहरुको मेहनत र प्रयासले हामी क्यान्सर विरुद्धको लडाई जित्न सक्छौ । यो अभियानमा सबैको संयुक्त अठोट आवश्यक छ । ’ आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै प्रयास अगाडि सारेको बताउदै मन्त्री बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले मृत्युवरण गर्न नपरोस भन्ने अभिप्रायले काम गरिरहेको दावी गरे ।
कार्यक्रममा सार्क राष्ट्रका क्यान्सर विज्ञहरुले क्यान्सर विरुद्धको लडाईमा सबैको सहकार्य हुनु पर्नेमा जोड दिएका थिए । वलिउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर विज्ञहरुकै मेहनतका कारण आफूले क्यान्सरमाथि बिजय प्राप्त गरेको बताइन । कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विज्ञहरु डा. मदनकुमार पिया, डा. विवेक आचार्य र डा. सन्ध्या चापागाई लगायतले क्यान्सर क्यान्सर विरुद्धको लडाईमा सार्क देशका विज्ञहरुको संयुक्त पहल आवश्यक परेको बताएका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ प्रस्तुतिकरण गरेका चिकित्सकहरुलाई पुरस्कृत गरिएको थियो । सम्मेलनमा सार्क देशरुका वरिष्ठ क्यान्सर रोग विज्ञहरु सहभागी रहेको वरिष्ठ क्यान्सर रोग विज्ञ डा. राजेन्द्र प्रसाद बरालले जानकारी दिए । सन् २००१ मा स्थापना भएको यो संस्थाले पालै पालो सार्क देशहरुमा सम्मेलन आयोजना गर्दै आइरहेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्टसको आगामी १९ औं सम्मेलन बंगलादेशको ढाकामा आयोजना हुने छ । शुक्रबार सुरु भएको सम्मेलन तिन दिनसम्म चल्ने छ ।