बझाङको बुङगल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण कार्य सम्पन्न भएको छ। अस्पताल भवन तयार भए पनि सञ्चालनमा ल्याउन समस्या भएको नगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख धनबहादुर बोहराका अनुसार अस्पताल सञ्चालनका लागि एमबीबीएस डाक्टर, दक्ष जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन गर्नुपर्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र सम्भव नहुने अवस्था रहेकोले संघीय तथा प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ रहेको छ।
यस्तै नगर प्रमुख जयबहादुर धामीले पनि अस्पताल सञ्चालनका लागि आफूले संघ र प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आएको बताउनुभएको छ। धामीका अनुसार अस्पताल सञ्चालनमा आएमा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
सरकारले करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालको संरचना निर्माण गरेको भए पनि अझै सेवा सञ्चालनमा नआउनु दुखद रहेको स्थानीयवासीको भनाइ छ। उनीहरूले तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गरेका छन्।
यसैबीच बझाङका अन्य स्थानीय तहमा पनि अस्पताल निर्माण कार्य भइरहेको छ भने केही पालिकामा निर्माण सम्पन्न भइसकेको छ। निर्माण सम्पन्न भएका अस्पतालहरू सञ्चालनमा ल्याउन सरकारको विशेष ध्यान जानुपर्ने स्थानीयको माग रहेको छ।







