बाँके, २५ भाद्र २०८१
लुम्बिनी प्रदेशको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक नाकको प्वाल मार्फत दूरबिन विधिद्धारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको छ।
डा. सुबोध गौतमको नेतृत्वमा जटिल खालको पिट्यूटरी ब्रेन ट्यूमरको अत्याधुनिक प्रविधिको प्रयोग गरि नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो ।
न्यूरोसर्जन डा. सुबोध गौतम र ईएनटी सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वको टोलिले बर्दिया गुलरिया नगरपालिका वडा नं.१२ भैसाहीकी ५० वर्षीया सुप्नी थारुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । यस खालको शल्यक्रियालाई मेडिकल साइन्समा दुलर्भ तथा जटिल शल्यक्रिया मानिने गरिन्छ ।
डा. गौतमले ‘यो शल्यक्रिया काठमाडौं उपत्यका बाहिर बिरलै हुने गर्दछ । पश्चिम नेपालका सरकारी अस्पतालमा गरिएको यो पहिलो शल्यक्रिया हो ।’ उपचारमा संग्लन न्यूरोसर्जन डा.गौतमका अनुसार पिट्यूटरी म्याक्रोएडेनोमा ट्युमर दिमागको बीचमा अवस्थित पिट्यूटरी ग्रन्थीको एक प्रकारका नफैलिने खालको क्यान्सर हो ।
डा. गौतमका अनुसार यस ट्युमरको आकार बढ्दा यसले वरिपरिका स्नायुतन्त्रमाथि दबाब पार्न सक्छ । जसले गर्दा बिरामीमा दृष्टि धमिलो हुने, टाउको दुख्ने, थकान महसुस हुने, हर्मोनको असन्तुलन हुने र अन्य शारीरिक समस्याहरू समेत निम्त्याउछ। अन्ततः आँखाको ज्योति नै गुम्ने खतरा समेत हुन्छ । सुप्नी थारुको अवस्था पनि गम्भीर बन्दै गएको थियो ।
सुप्नीलाई तीन महिनाअघि मस्तिष्कमा रगत जम्ने (ब्रेन हेमरेज) समस्या भएर भेरी अस्पतालमै उपचार भइरहेको थियो । डा. गौतमले भने–‘नियमित उपचार फलोअप कै क्रममा बिरामीले दृष्टि कमजोर हुँदै गएको कुरा गरेपछि थप परीक्षण गर्दा पिट्यूटरी ट्युमर रहेको देखियो । हामीले विरामीको नाकको प्वालमा दूरविन छिराएर अप्रशेन गर्यौ ।अहिले बिरामीको अवस्था समान्य बन्दै गएको छ । आइसीयूबाट आजमात्रै वार्डमा सारिसकेका छौ।’
डा. गौतम नेतृत्वको टोलिले रोगको पहिचान गरेर शल्यक्रिया गरिएसँगै सुप्नी अहिले हिड्डुल गर्न थालेको र आँखा पनि पहिलेको भन्दै राम्रो देख्ने अवस्थामा पुगेको बिरामीका आफन्त गणेश चौधरीले बताए । यस खालका अप्रेशनहरु नेपालमा प्राय काठमाडौँ मात्रै हुने गर्दछन् ।
सुप्नीलाई पनि चिकित्सकहरुले सुरुमा काठमाडौं जान सुझाएका थिए । तर आर्थिक समस्याका कारण उनलाई काठमाडौं लग्ने अवस्था थिएन । ‘एंडोस्कोपिक पिट्यूटरी सर्जरी जटिल र विशेषज्ञताको आवश्यकता पर्ने शल्यक्रिया हो । यसलाई सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो टिमका लागि गौरवको कुरा हो’–शल्यक्रियामा संग्लन नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सगुन श्रेष्ठले भने ।
करिब साढे तीन घन्टा लगाएर गरिएको उक्त शल्यक्रियामा एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, डा. विशाल, नर्सिङ स्टाफहरु तारा, आशा, करिमा लगायत सहभागि थिए।