चितवन, ११ मंसिर २०८१
भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ ।
अस्पतालले विगतमा शैया, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमो लगायत औषधि पनि निःशुल्क गर्न थालेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठनबाट केमो सहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउने बताउनुभयो । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका डा. पौडेलले बताए।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गरेको बताए । डा. नेपालका अनुसार बिरामी धेरै भएकाले निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो । पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको छ ।
अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताए। नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उनको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको डा. शर्माले बताए।
डा. शर्माले भने, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।” बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने डा. शर्माले विश्वास व्यक्त गरे।