विराटनगर, २० असोज २०८२
विराटनगरमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेको छ । बाढीका कारण विस्थापित भएका ज्येष्ठ नागरिक र बालबालिकामा चिसो र ज्वरोको समस्या देखिन थालेको हो ।
गत शुक्रबार र शनिबारको वर्षासँगै केसलीया खोलामा आएको बाढीका कारण विस्थापित भएकाहरुका लागि सोमबार जीवन विकास सामुदायिक अस्पतालले विराटनगर महानगरपालिका १२ को बखरी स्कुल र विराटनगर १६ को दरैयामा रहेको मिल्स माध्यमीक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ती स्कुलमा बाढी प्रभावित बसेका छन् ।
प्रभावित क्षेत्रमा बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकसहितको टोलीले बाढीका कारण विस्थापित भएका ४ सय बढीको स्वास्थ्य जाँच गरेको थियो।
स्वास्थ्यमा समस्या देखिएकाहरूलाई औषधि उपलब्ध गराएको जीवन विकास सामुदायीक अस्पतालका संयोजक तेजस्वी मण्डलले जानकारी दिनुभयो। जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि सामाजिक अभियान अन्तरगत विराटनगरको रानी, बुधनगर, झापाको धरमपुर, सुनसरीको लौकही, मधुवन, छिटाहा र सिमरियामा एक हजार ३ सय बाढी प्रभावितहरुलाई सहयोग गरेको जनाएको छ।