काठमाडौं, १० बैशाख २०८२
नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा ९ बेडको सर्जिकल आइसियु थपिएसँगै कुल आइसियु बेड संख्या ११० पुगेको छ।
बुधबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललले उक्त सर्जिकल आइसियुको उद्घाटन गर्नु भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताउनु भयो । वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलको भनाइ छ।
मन्त्री पौडेलले भने– ‘अस्पताल प्रति विश्वास नभएको भए यतिका मान्छे अस्पतालमा आउँदैन थिए’ यहाँ चिकित्सकहरुले राम्रो उपचार गर्छन्, नर्सहरुले राम्रो हेरचाह गर्छन् भनेर नै बिरामीको संख्या बढेको हो। वीर अस्पतालप्रतिको आकर्षणलाई अझै बढाउन सबैले मिलेर काम गर्ने बेला आएको पौडेलको भनाई छ।
अस्पतालमा भिआईपी कक्ष तथा क्याबिनलाई व्यवस्थित तरिकाले प्रयोग गर्नका लागि मन्त्री पौडेलले निर्देशन दिए । ‘यसले पैसा भएका मानिसहरु पनि वीर अस्पतालमा उपचारका लागि आउने स्थिती बन्छ’, मन्त्री पौडेलले भने, जसले अस्पतालको कमाई बढ्नुका साथै अस्पतालप्रति विश्वास पनि बढ्दै जान्छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. भुपेन्द्र कुमार बस्नेतले न्याम्सको स्थापनासँगै संघमा केन्द्रीकृत विशेषज्ञ चिकित्सकीय सेवालाई जिल्ला अस्पतालसम्म पुर्याउन सफल भएको बताए।
डा. बस्नेतका अनुसार हालसम्म न्याम्सले ३ हजार भन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको छ। न्याम्सले एमडीएस कार्यक्रमका साथै अनुसन्धानका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ। न्याम्सले अक्सफोर्ड विश्वविद्यालयको रिसर्च टिमसँग मिलेर काम गरिरहेको छ।
न्याम्सले हाल काठमाडौ उपत्यका तथा बाहिर गरेर विभिन्न २४ अस्पतालहरुमा अध्यापन तथा तालिम दिँदै आएको डा. बस्नेतले बताए।
९ सर्जिकल आइसियु बेड थपिएसँगै अस्पतालले आइसियु र एचडियु गरी करिब ११० बेडबाट सेवा दिने डा. बस्नेतले बताए। उनले आफुले वीर अस्पतालमा निर्देशकका रुपमा काम गर्दाे ५ वटा मात्रै आइसियु बेड रहेको सम्झिएँ।
डा. बस्नेतले भने, ‘आइसियु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गर्थ्यो। धेरै दबाबका बीच काम गर्नु परेको थियो। निर्देशकका रुपमा काम गर्न धेरै गाह्रो भएको थियो। हाल आइसियु बेड सजिलै पाइने उनले बताए।
अझै ९ बेड थप भएसँगै आगामी दिनमा वीर अस्पतालमा आइसियु नपाएर बिरामी रेफर गर्नुपर्ने अवस्थाकोे अन्त्य नै भएको डा. बस्नेतको दाबी छ। हाल १८ शल्यक्रिया कक्षबाट सेवा दिँदै आएको अस्पतालले कुल ९ सय ६० बेडबाट सञ्चालन गर्दै आइरहेको छ।
गत वर्ष वीर अस्पतालले ६ लाख ७५ हजारलाई ओपिडी सेवा दिएको अस्पतालको तथ्यांक छ । त्यस्तै इर्मर्जेन्सीमा ३५ हजार, शल्यक्रियातर्फ २६ हजार ९ शय ३३ बिरामीलाई अस्पताले सेवा दिएको थियो। अस्पतालले हाल ६ फार्मेसी तथा १८ वटा काउन्टरबाट सेवा दिइरहेको छ।
वीर अस्पतालले हाल रेस्पेरेटिभ आइसियु ५, मेडिकल ८, सीसीयु ८, एआईसीयु १४, न्युरो आइसीयु ५, आइसियु ७३, सर्जिकल आइसीयु ९, बर्न आइसीयु ५ लगायत आइसियु र एचडीयु गरी ११० वटा सञ्चालनमा गरिरहेको छ।