काठमाडौं, १२ मंसिर २०८१
वीर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई औषधी तथा औषधी जन्य सामानहरू खरिद गर्न आउने बिचौलिया र अस्पताल वरिपरि संचालनमा रहेका औषधि पसलहरूबाट बेड बेडमा गई औषधि पसलको नाम र ठेगाना सहितको कार्डहरू वितरण गर्ने खुलेको छ ।
वीर अस्पताल प्रशासनले त्यस्ता व्यक्तिहरूलाई अस्पताल भित्र प्रवेश गर्न निषेध गरेको छ । त्यस्ता व्यक्तिहरू अस्पताल प्रवेश गरेको पाइएमा अस्पतालका सुरक्षा गार्ड तथा प्रहरीलाई सूचना गरी कानूनी कारवाहीका लागि सहयोग गर्न प्रशासनले एक सुचना मार्फत जानकारी गराएको छ।
अस्पतालमा प्राय गरी बहिरङ्ग सेवा (ओ.पि.डी), इमर्जेन्सी तथा अन्तरङ्ग सेवा (भर्ना भएका) का बिरामीहरुको लागि औषधि तथा औषधिजन्य समानहरू यसै अस्पतालमा सञ्चालित फार्मेसीबाट उपलब्ध हुने भएकाले यसै अस्पतालको फार्मेसीबाट खरिद गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ ।
यस्तै स्वास्थ्य वीमामा आवद्ध तथा अन्य विरामीहरूलाई निश्चित ब्राण्ड वा कम्पनी तोकी औषधि तथा औषधिजन्य सामग्रीहरू सिफारिस नगर्नुहुन र अस्पताल फार्मेसीबाट उपलब्ध गराइएका औषधिजन्य सामग्रीहरू ब्राण्ड वा कम्पनी नमिलेको आधारमा फिर्ता नगर्नु तथा नगराउनु पनि जानकारी गराएको छ।
प्रशासनले त्यस्तो कार्य गरेको पाइएमा नियमानुसार कार्यवाही गरिने पनि सूचना मार्फत जानकारी गराएको छ।