बाँके, २० कात्तिक २०८०
भेरी अस्पतालले उपचारका लागि नेपालगञ्ज ल्याइएका जाजरकोट भूकम्पका ४१ जना घाईतेको स्वास्थ्य अवस्था सुधारोन्मुख र केहीको खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केल भूकम्पबाट घाइते भएका ४३ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । त्यसमध्ये ४१ जनाको भेरी अस्पताल र २ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेकोमा १ जनाको डिस्चार्ज र जना भेरीमा रिफर गरेको छ।
अस्पतालले आज विहानै विज्ञप्ती जारी गर्दै दुबै ठाउँमा उपचाररत व्यक्तिहरु खतरामुक्त हरेको बताएको हो ।
अस्पतालले ४१ जनामध्ये ७ जनाको शल्यक्रिया पछि उपचाररत रहेको र आइसियु वार्डमा भर्ना भै २ जना उपचाररत रहेको जनाइएको छ। प्रसुती वाडमा उपचाररत गर्भवतीको पेटमा रहेको बच्चाको मृत्यु भएको छ।
यसअघि नेपालगञ्जमा उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको बताइएको थियो । तर भेरी अस्पतालले अस्पताल आई नपुग्दै बाटोमै ती व्यक्तिको ज्यान गएको जनाएको छ । नलगाड १ जाजरकोटका मृतकको शव आज विहान त्यस तर्फ पठाउने व्यवस्था मिलाएको समेत जनाएको छ ।
सरकारले भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकेकोले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको एक व्यक्तिलाई पनि भेरीमै ल्याउने तयारी भएको बताएको छ ।