बाँके, १३ पुस २०८२
नेपालगन्जस्थित भेरी अस्पतालमा तीन दिने फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम सुरु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रम पौष १४ गते सोमबारसम्म सञ्चालन हुने भएको हो ।
अस्पतालमा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण अस्पतालको रूपमा विकास भएसँगै पठनपाठनमा संलग्न चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो । हाल अस्पतालमा MD/MS कोर्सको अध्यापन सुरु भइसकेको छ । अस्पतालमा सुरु भएको फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम MD/MS तहका विद्यार्थीलाई अध्यापन गराउने प्राध्यापक तथा वरिष्ठ चिकित्सक लक्षित रहेको छ । कार्यक्रममा स्नातकोत्तर तहका विद्यार्थीलाई प्रभावकारी रूपमा पढाउने सीप विकासमा जोड दिइने छ।
कार्यक्रममा मुख्य रूपमा आधुनिक अध्यापन विधि, पाठ्यक्रम अनुसारको परीक्षा प्रणाली र मूल्याङ्कन विधि, थेसिस तथा अनुसन्धान निर्देशन, क्लिनिकल तथा एकेडेमिक एथिक्स, विद्यार्थी–प्राध्यापकबीच प्रभावकारी समन्वय र संवाद कौशललगायत विषयमा प्रशिक्षण दिइने चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा. भुपेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो।
आज आयोजित उद्घाटन समारोह न्याम्सका मेडिकल एजुकेसनका भेरी अस्पताल फोकल पर्सन समेत रहेका प्रमुख कन्सल्टेन्ट फिजिसियन सह- प्रा.डा.राजन पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्याम्सका उपकुलपति डा.भूपेन्द्र कुमार बस्नेत, विशिष्ट अतिथि रजिष्ट्रार तथा सह–प्राध्यापक डा. ज्ञानेन्द्र शाह, डिन प्रोफेसर अशेष ढुंगाना, मेडिकल एजुकेसन बोर्डका अध्यक्ष प्रोफेसर डा. सन्ध्या चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा कार्यरत ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उक्त कार्यक्रममा प्रशिक्षण लिइरहेका बताउनुभयो । फ्याकल्टीका आधारमा रेसिडेन्ट चिकित्सक (आवासीय) अस्पतालमा आएर अध्ययन तथा प्रशिक्षण कार्य सुरु गरिसकेको डा. सुवेदीले जानकारी दिए।













