बाँके, २३ साउन २०८२
नेपालगन्जस्थित रहेको भेरी अस्पतालले लामो समयदेखि एमडी/एमएस कोर्स अध्यापन गर्ने प्रयास हुँदै आएको भएतापनी असारबाट एमडी र एमएस अध्यापन सुरु भएको छ।
अस्पतालले पहिलो चरणमा मेडिसिन र सर्जरी’ विभागका फ्याकल्टीमा अध्यापन सुरु भएको अस्पतालले जनाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र भेरी अस्पतालबिच यसअघि एमडी/एमएस कार्यक्रम सञ्चालन गर्ने औपचारिक सम्झौता भएको थियो । सम्झौता पत्रमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भूपेन्द्र बस्नेत र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले हस्ताक्षर गरेका थिए। सम्झौतापश्चात् न्याम्सको सिनेट बैठकले भेरी अस्पतालमा अध्यापन स्वीकृति प्रदान गरेको थियो।
यो वर्ष देखि भेरी अस्पतालसँगै कोसी अस्पताल, भरतपुर अस्पताल र नारायणी अस्पतालले एमडी/एमएस अध्यापन गराउन छनोटमा परेका थिए । एमडी/एमएस कार्यक्रमका लागि भेरी अस्पतालले सुरुमा ५४ वटा फ्याकल्टीका पद प्रस्ताव गरेको थियो। तर, मापदण्ड अनुसार ११ वटा पद मात्र सिर्जना भयो। जसअनुसार भेरी अस्पतालका ११ जना चिकित्सकले सहप्राध्यापक र उपप्राध्यापक पद प्राप्त गरे।
भेरी अस्पतालमा अहिले मेडिसिन विभाग र सर्जरी विभागमा रेजिडेन्ट चिकित्सक आएर अध्ययन थालिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले बताउनु भयो।
डा. सुवेदीका अनुसार स्त्री तथा प्रसूति (गाइनो) विभागमा एक जना र अर्थोपेडिक(हाड जोर्नी) मा दुई जना आवासीय चिकित्सक पनि अध्ययनका लागि भेरी अस्पताल आउने प्रक्रियामा छन्।
तीन वर्षे कार्यक्रममा आवासीय चिकित्सक २४ सैँ घण्टा अस्पताल क्षेत्रमा रहनेछन्। अस्पतालको सर्जरी विभागमा सहप्राध्यापक द्वय डा. नीराजन सुवेदी र डा. दीपेश गुप्ताले अध्यापन गराइरहेका छन्। मेडिसिन विभागमा सहप्राध्यापक द्वय डा. राजन पाण्डे र डा. विकास नेपाल तथा उपप्राध्यापक डा. संकेत रिसालले अध्यापन गराइरहेका छन्।
यस्तै गाइनो विभागमा सहप्राध्यापक डा. कृतिपाल सुवेदी र अर्थोपेडिक विभागमा सहप्राध्यापक द्वय डा. प्रकाशबहादुर थापा र डा. तिर्थेन्द्र खड्कालगायत अध्यापन गर्ने तयारीमा छन्।
विशेषज्ञ चिकित्सकको अध्यापन भए सङ्गै अस्पतालमा आवासीय चिकित्सक २४ सैँ घण्टा अस्पतालमा खटिनुपर्ने भएकाले अस्पतालमा अब प्रायः डाक्टर अभाव हुने छैन। जसले ओपिडी, इमर्जेन्सी, आइसियुलगायत सबै ठाउँमा रहेका बिरामीसम्म विशेषज्ञ चिकित्सकको निगरानीमा रहनेछ।
डा. सुबेदीले भने, दिनहुँ कक्षा सञ्चालन हुन्छ। हप्तामा दुई वटा प्रस्तुतीकरण पनि गर्नुपर्छ । हामीलाई पढाउने डाक्टरहरू पनि निकै अनुभवी हुनुहुन्छ। धेरै रोगको अनुसन्धान गरिसकेको व्यक्तिसँग अध्ययन गर्न पाउँदा हामीलाई त्यसै पनि गर्व महसुस भइरहेको छ।’
आवासीय चिकित्सकबाट छिटो–छरितो सेवा प्रदान हुने, जनशक्तिको अभाव नहुने, अस्पताललाई आर्थिक भार कम पर्ने र बिरामीलाई पनि प्रत्यक्ष रूपमा फाइदा पुग्ने डा. सुवेदीको भनाइ छ।
डा. सुबेदीले भने, अस्पताल विकास समितिले एमडी र एमएस अध्ययन गर्ने आवासीय चिकित्सकलाई रात्रिकालीन भत्ता र आवासको मात्रै व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसबाहेक अन्य सेवा सुविधा चिकित्सा शिक्षा आयोगले उपलब्ध गराउँछ । आयोगले नेपाल सरकारका अन्य चिकित्सकलाई प्रदान गरिने आठौँ तह बराबरको तलब सुविधा प्रदान गर्छ। बाहिरबाट हेर्दा अध्ययन गर्ने विद्यार्थी जस्तो देखिए पनि पूर्ण छात्रवृत्ति प्राप्त आवासीय चिकित्सक हुन्।