काठमाडौं, ८ फागुन २०८१
बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बीच क्यान्सर तथा अन्य रोगको परीक्षण गर्ने सम्झौता भएको छ।
संघीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
संघीय अस्पतालमा विशिष्टकृत स्तरको प्रयोगशाला नहुँदा बिरामी निजीमा चर्को शुल्क तिरेर जान बाध्य भएको भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो। यो सम्झौताले अस्पताललाई सहज र बिरामीलाई सुविधा पुग्ने डा. सुबेदीले बताए।
डा. सुबेदीले भने, ‘कतिपय संघीय अस्पतालहरुमा राम्रो प्रयोगशालाको सुविधा छैन। सुविधा नहुँदा बिरामीहरु धेरै पैसा तिरेर निजीमा जान बाध्य छन्। हामीले सरकारी मूल्यमा परीक्षण गरेर अस्पतालमा पठाउँछौ।’
हालसम्म सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग प्रयोगशालाले सम्झौता गरिसकेको छ। आवश्यकता अनुसार थप संघीय अस्पतालहरुसँग यस किसिमको सम्झौता गर्दै जाने प्रयोगशालाले जनाएको छ।