बाँके, २० भाद्र २०८१
नेपालगञ्जस्थित भेरी अस्पतालमा झाडापखालाका बिरामीहरुको लागि छुट्टै वार्डको व्यवस्थापन गरेर उपचार गर्न थालिएको छ।
पछिल्ला दिनहरुमा झाडापखालाका बिरामीहरु उपचारका लागि अस्पतालमा आउने क्रम बढेसँगै छुट्टै वार्ड व्यवस्थापन गरेर उपचार गर्न लागिएको भेरी अस्पतलाका सूचना अधिकारी एवम् इमर्जेन्सी विभागका प्रमुख वरिष्ठ फिजिसियन डा. सङ्केत रिसालले जानकारी दिनुभयो।
भेरी अस्पतालका आरआरटी प्रमुखसमेत रहेका डा. रिसालले भदौ लाग्ने बित्तिकै जिल्लाका विकट गाउँबस्तीहरुमा झाडापखालाका बिरामीहरु देखिन थालेको र उनीहरुमा कडा खालको झाडापखाला भएको पाइएको उपचारका लागि तयारी स्वरुप अस्पतालमा अलग्गै वार्ड सञ्चालन गरेको बताए ।
स्वास्थ्य कार्यालय, अस्पतालका मेट्रोन, रेडक्रस, नेपालगञ्ज उपमहानगरपालिका लगायत अन्य स्थानीय पालिका तथा सरोकारवाला सङ्घ संस्थाहरुसँगको छलफलपश्चात् भेरी अस्पतालमा झाडापखालाका बिरामीहरुलाई उपचार गर्नका लागि छुट्टै वार्ड सञ्चालन गर्ने सहमति भएको डा. रिसालले बताए।
डा. रिसालका अनुसार वार्ड सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति स्थानीय पालिकाहरुले पठाउने सल्लाह भएको छ र मुख्यतया वार्ड सञ्चालनका लागि जनशक्तिकै अभाव हो।
झाडापखालाका बिरामीहरुलाई उपचारमा कुनै कमी नआओस भनेर एक जना एमबिबिएस डाक्टरसहित स्टाफनर्स र स्वास्थ्यकर्मीहरुले २४सै घण्टा सेवा दिइरहेको डा. रिसालले बताए। सबैभन्दा पहिला बिरामीहरु इमर्जेन्सीमा आउने र त्यहाँबाट स्क्रिनिङ भएपश्चात् झाडापखालाका बिरामीहरुलाई झाडापखाला वार्डमा पठाउने व्यवस्था गरिएको डा. रिसालको भनाइ छ ।
“बिरामी सबैभन्दा पहिला इमर्जेन्सीमा पुग्नुहुन्छ, त्यहाँ कुन रोग हो पत्ता लगाउने काम हुन्छ, स्क्रीनिङ हुन्छ, स्क्रीनिङ पश्चात् झाडापखालाका बिरामी भए यो वार्डमा पठाइदिनुहुन्छ ।” उनले भने, “एकै दिनमा १९–२० जनासम्म झाडापखालाका बिरामीहरु उपचारका लागि आउनुभएको थियो ।”
गत भदौ ९ गतेबाट १६ वेड रहेको झाडापखाला वार्ड सञ्चालन गरिएको र हालसम्म ५८ जना बिरामीको उपचार भएको एजिई विभागका मेडिकल अधिकृत डा. आसिफ अन्सारीले जानकारी दिए ।
डा. अन्सारीका अनुसार दैनिकरुपमा झाडापखालाका बिरामीहरु आउने तथा उपचारपश्चात् घर जाने क्रम चलिरहेको छ । बिहीबार बिहानसम्म वार्डमा ८ जना बिरामीहरु उपचाररत रहेको उनले बताए ।
पछिल्लो समयमा नेपालगञ्ज मात्र नभएर जिल्लाका विभिन्न भागमा झाडापखालका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ ।