चितवन, २४ भाद्र २०८१
चितवनस्थित भरतपुर अस्पतालमा ‘एमआरआई’ मेसिनको उद्घाटन गरिएको छ ।
अस्पतालले सेवा सञ्चालन गरेको करिब दुई महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार औपचारीक रुपमा ‘एमआरआई’ मेसिनको उद्घाटन गर्नुभएको हो । अस्पतालले असार २७ गतेदेखि एमआरआई सेवा सञ्चालन गरेको थियो ।
‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सहितको सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । संघिय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोड रुपैयाँमा मेसिन जडान गरिएको उनले बताए ।
स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने अस्पतालले जानकारी दिएको छ । अस्पतालमा दैनिक २५ जना हाराहारीले सेवा लिने गरेका छन् । सेवा सञ्चालन गरेको केही सातापछि चट्याङले मेसिन बिगारेपछि बनाएर सेवा पुनः सञ्चालनमा ल्याईएको थियो । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ ।