ललितपुर, ११ माघ २०८२
बी एन्ड बी अस्पताल परिसरमा आज ‘AKB Limb Fitting Centre’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ।
यस केन्द्रको उद्घाटन अस्पतालका सम्माननीय संस्थापक प्रा.डा. जगदीश लाल वैद्य र प्रा.डा. अशोक कुमार बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनहरू, विभिन्न विभागका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. बिबेक बाँस्कोटाले ‘AKB Limb Fitting Centre’ केवल कृत्रिम अंग जडान गर्ने केन्द्र मात्र नभई अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, गतिशीलता र आशा पुनःस्थापना गर्ने उद्देश्यले स्थापना गरिएको उल्लेख गरे।
सम्माननीय संस्थापक प्रा.डा. जगदीश लाल वैद्य र प्रा.डा. अशोक कुमार बाँस्कोटाको दूरदृष्टि, करुणा र आजीवन सेवाभावका कारण यो महत्वपूर्ण उपलब्धि सम्भव भएको बताउँदै आयोजकले उहाँहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा डा. बिबेक बाँस्कोटाले केन्द्रको दृष्टिकोण, सेवा क्षेत्र तथा भावी योजनाबारे पावरपोइन्ट प्रस्तुतिकारण गर्नुभयो। उहाँले उपचार शल्यक्रियामै सीमित नराखी पुनर्स्थापना सेवासँग जोडेर बिरामीलाई आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने केन्द्रको लक्ष्य स्पष्ट पार्नुभयो।
उहाँको प्रस्तुतीकरणपछि सहभागीहरूले चिकित्सा क्षेत्रमा सफलता प्रक्रियाको संख्याले नभई रूपान्तरित जीवनहरूको आधारमा मापन हुनुपर्ने सन्देश पाएको बताए।
त्यसपछि सम्माननीय संस्थापक प्रा.डा. जगदीश लाल वैद्य र प्रा.डा. अशोक कुमार बाँस्कोटाले शुभकामना मन्तव्य राख्दै केन्द्रको सफलताको कामना गर्नुभयो। कार्यक्रममा केही लाभग्राहीहरूलाई कृत्रिम अंग हस्तान्तरण पनि गरिएको थियो।
‘एकेबी लिम्ब फिटिङ सेन्टर’ अर्थोपेडिक उत्कृष्टता र पुनर्स्थापना सेवाबीचको सहकार्यको जीवन्त उदाहरण बनेको आयोजकको भनाइ छ, जहाँ विज्ञान र मानवता एकसाथ अघि बढ्ने विश्वास लिइएको छ।














