बर्दिया, २२ पुष २०८१
शनिबार बर्दिया अस्पतालले एकैदिन १४ जना बिरामीको पाठेघर सम्बन्धि समस्याको सफल अप्रेशन गरेको छ । अस्पतालले १४ जनाको आङ खसेको र मासु पलाएको समस्याको सफल अप्रेशन गरेको हो ।
सिमित स्रोत साधनको बाबजुद यतिको एकैदिन सफल अप्रेशन गरेको अस्पतालको पहिलो रेकर्ड हो ।
गुलरिया नगरपालिकाका ९ जना महिलाले निःशुल्क रुपमा पाठेघर सम्बन्धि समस्याको अस्पतालमा अप्रेशन गराएका छन् ।
त्यसैगरी बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका, बढैयाताल गाउँपालिकाकी एक/एक जना र कैलाली लम्कीचुहाकी एक बिरामीले अप्रेशन सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अप्रेशन सेवा लिएका बिरामीहरुको अवस्था राम्रो रहेको छ । उक्त बिरामीहरुलाई बुधबारसम्म डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
अस्पतालले निशुल्क रुपमा अप्रेशन सेवा दिएको गुलरिया नगरपालिका ९ की पेपली गोडियाले बताईन् । ‘अस्पतालमा उपलब्ध औषधी पनि निःशुल्क पाएको छु,’गोडियाले भनिन्,‘अस्पतालमा नपाएको औषधी मात्र बाहिरबाट किनेको छु ।’ अस्पतालले निःशुल्क अप्रेशन सेवा दिएर खर्चबाट जोगिएको बढैयाताल गाउँपालिका–६ की ७१ वर्षिय ईसुमति थारुले बताईन् ।
पाठेघर सम्बन्धि समस्याको बाहिर गएर अप्रेशन गराउँदा बिरामीले कम्सेकम ५० हजार बढी खर्च व्यहोर्नु पर्थ्यो। तर, आफ्नै ठाउँको अस्पतालमा जटिल समस्याको निःशुल्क रुपमा उपचार पाउँदा बिरामीले खुसी देखिएका छन् ।
१३ जनाको पुर्णरुपमा निःशुल्क र एक जनाको न्युनतम शुल्क लिएर अप्रेशन सेवा दिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुबास पाण्डेले बताउनु भयो ।
डा. पाण्डेका अनुसार एकैदिनमा १४ जना बिरामीलाई अप्रेशन सेवा दिएको हो तर अप्रेशन त भईरहन्छ,’ धेरै एकैदिन, त्यो पनि बिदाको दिनमा मेजर अप्रेशन पहिलो पटक भएको छ ।’ सिमित स्रोत साधनको उपस्थितीमा एकैदिनमा १४ जनाको मेजर अप्रेशन गर्न सफल भएका छौं,’मेसु डा.पाण्डेले भने,‘करिब १६ जनाको टोली बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म परिचालित हुँदा अप्रेशन सम्भव भएको हो ।’
महिनाको एक पल्ट गरेर ६० जना सम्मको निःशुल्क पाठेघरको अप्रेशन गर्न सकिन्छ, तर यसको लागि यहाँ प्रयाप्त जनशक्ति नहुँदा आग्रह गरेर कोहलपुरबाट थप बिशेषज्ञ चिकित्सक जनशक्ति कोहलपुरबाट ल्याएको डा. पााण्डेले सुनाए । अस्पताल र कोहलपुरबाट ल्याईएको जनशक्ति मिलेर मेजर अप्रेशन गर्न सफल भएको जनाए । अब आउने माघ महिनाको तेस्रो शनिबार अप्रेशन गर्ने तयारी रहेको डा. पाण्डेले जानकारी दिए ।
मेजर अप्रेशनको लागि कोहलपुरबाट वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.कविता पाण्डे, डा. होमनाथ अधिकारी र बर्दिया अस्पतालका वरिष्ठ एनेस्थेसिओलोजिस्ट डा. दिपेन्द्र महासेठ लगायतको अस्पतालको टिम खटिएको जनाईएको छ।