बर्दिया, २६ मंसिर २०८१
गुलरियास्थित बर्दिया अस्पतालले पेन-प्लस क्लिनिकको शुरुआत गरेको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँगको सहकार्यमा उक्त क्लिनिक सञ्चालनमा ल्याइएको हो।
मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुमगर द्वारा क्लिनिकको प्रिफ्याब भवनको उद्घाटन गरिएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले नसर्ने रोगहरुको बढ्दो चुनौती सामना गर्न पेन-प्लस कार्यक्रम सुरु गरिएको बताउनु भयो । मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुको अनुसन्धनात्मक उपचार गर्नेगरी यो कार्यक्रम अघि बढाइएको डा. पाण्डेले बताए।
नेपालमा करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने देखिएको छ। पेन-प्लस कार्यक्रम यस्ता रोगहरुको उपचारका साथै र यसबाट जोगिने उपायका बारेमा समेत नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुनेछ।