बझाङ ६ फागुन २०८१
देशभरका प्राथमिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्डका आधारमा सुदूरपश्चिम प्रदेशको बझाङ अस्पताल पहिलो भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले गरेको अनुगमन मुल्यांकनमा बझाङ अस्पतालले ९४ प्रतिशत अंक पाएको हो ।
देशभरकै प्राथमिक अस्पतालहरुमा सबैभन्दा बढी रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नवराज जोशीले बताए । न्यूनतम सेवा मापदण्डमा अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवाहरुको मुल्यांकन गरिन्छ । पछिल्ला केही वर्षदेखि बझाङ अस्पताल न्यूनतम सेवा मापदण्डमा राम्रो अंक प्राप्त गरिरहेको अस्पताल हो । यसअघि पनि सो अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९३ प्रतिशत अंक पाएको थियो ।
डा. जोशीका अनुसार अस्पतालले व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवामा हुने यस्तो मुल्यांकनले दिनरात नभनी खटिने अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुको मुल्यांकन भएको छ। यस्ता मुल्यांकनले काम गर्ने मानिसको मनोबल बढ्छ ।
प्राथमिक अस्पतालहरुको प्राथमिक सेवा मापदण्ड अनुसारको सेवा प्रवाह भएनभएको सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयले अनुगमन र मुल्यांकन गर्ने गर्छ । केन्द्रीय अस्पतालहरुको हकमा भने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले गर्ने गर्छ।