बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् ।
नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्रसिँह कार्कीले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा ५३८ जनामा क्षयरोगको परीक्षण गर्ने लक्ष्य राखेको थियो । तर हालसम्म २०३ जनाको मात्रै परीक्षण गरिएकामा ८७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ राज भट्टले लक्ष्यअनुसार परीक्षण हुन नसक्नु चुनौतीका रूपमा देखिएको छ र विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोग पहिचान अभियानलाई तीव्र बनाइएको बताए ।
भट्टका अनुसार सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालन भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने गरेका छन् ।







