बैतडी, ०६ साउन २०८२
बैतडीको गोठलापानीस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ।
शनिबार अस्पतालमा डा. पविन उपाध्यायको नेतृत्वमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो।
करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका एमडिजिपी डा. उपाध्यायले जानकारी दिनुभयो।
यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन। एमडिजिपी डा. उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै सेवा सुरु भएको हो।
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील विकले जानकारी दिए।
डडेल्धुरा अस्पतालले पनि बैतडीमा उपलब्ध नभएका सर्जरी सामग्रीलगायत आवश्यकता अनुसार चिकित्सकलाई हप्ताको एक दिन खटाउने गरेको डा. बिकले बताए।