नेपालमा करिव ३० प्रतिसत बयस्कमा उच्च रक्तचापको समस्या रहेको देखिएको छ । उच्च रक्तचापलाई मुटु रोगको प्रमुख कारक मानिन्छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको ३० प्रतिसत बयस्कमा उच्च रक्तचापको समस्या छ । त्यसैगरि जनसंख्याको २५ प्रतिसत अर्थात करिव ७५ लाख जनतामा कुनै न कुनै प्रकारको मुटुरोग रहेको अनुमान गरिएको छ । २० प्रतिशतलाई कालेस्टेरोलको समस्या, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव एवं वरिष्ठ मुटुरोग विज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार वर्षेनी १००० बालबालिका बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मृत्युको मुखमा पर्ने गरेका छन । डा. रेग्मीका अनुसार बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनिबाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ । पछिल्ला वर्षमा मुटु रोगको समस्या बढ्नुको कारण खानपान र अव्यवस्थित जिवनशैली प्रमुख कारण रहेको विज्ञहरु बताउछन । डा. रेग्मीका अनुसार ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्छन् ।
धेरै नेपालीलाई मानसिक तनाव छ । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलफूल आदि कम छ । चुरोट, सुर्तीको सेवनबढी छ, रक्सी पिउने बानी धेरैको भएकाले समस्या थपिदै गएको विज्ञहरुको दावी छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदमचाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय भएको उनीहरुको सुझाउ छ । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउन पर्छ । मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनकालागि गर्ने भनेको हो । यसै गरि ‘ मन लगाउ, मुटु बचाउ ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइदै छ । हरेक वर्ष सेप्टेम्बर २९का दिन विश्व मुटु दिवस मनाइन्छ ।
विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिसत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिसत पुग्ने अनुमान गरिएको छ ।
✍ डा.प्रकाश राज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ (Dr Prakash Raj Regmi, Consultant Cardiologist)
Comments 2